एमाले एक्लै छैन्, हामी साथमा छौं नेपाली जनता साथमा छन्ः चित्रबहादुर केसी

birodha-chitra-bhahadur
काठमाडौं, ११ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहाड-तराई टुक्राउने भारतीय डिजाइनको संविधान संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताएका छन् ।

‘राष्ट्रघाति संविधान संशोधन प्रस्तावविरुद्ध संघर्ष गरौं, तराईलाई पहाडबाट अलग गरी सीमांकन गर्ने कार्यको विरोध गरौं’ भन्दै राष्ट्रिय जनमोर्चा काठमाडौं शाखाद्धारा शनिबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै केसीले देशको राष्ट्रियता, सार्वभौकिता र अखण्डतामाथि कुनै हालतमा सौदाबाजी गर्न नदिने र संशोधन प्रस्ताव दर्ता गरिसकेपछि पनि यो कुनै हालतमा रोक्नुपर्ने बताए ।

‘भारतले जे भन्छ त्यही मान्ने शर्तमा प्रचण्ड सरकारमा गएका हुन् । कांग्रेस–माओवादी गठबन्धनले चारवटा विषय नागरिकता, सीमाकंन, भाषा, समावेशिता विषयमा भारतकै योजनाअनुसार संशोधन प्रस्ताव ल्याएको छ,’ उनले भने- ‘भारतले कांग्रेसलाई पनि मनायो माओवादीलाई पनि मनायो र बाबुरामलाई पनि मनाउँदा संशोधनको कुरा आयो । यो काकरभिट्टादेखि कञ्चनपुरसम्म पहाड र तराई अलग गराउने भारतको खतरनाक डिजाइन् हो । नेपाली राष्ट्रियता, सार्वभौकिता र अखण्डतामाथिको ठूलो चुनौति हो । नेपालीहरु रगतको खोलो बगाउनेपर्ने बेला आएको छ ।’

एमालेको प्रशंसा

विरोध कार्यक्रमअन्तर्गत सडकमा ओर्लिएका केसीले संविधान संशोधन प्रस्तावमा एमालेले लिएको अडानको प्रशंसा गरे ।

‘मलाई खुसी लागेको छ कि नेकपा एमालेले अहिले जो अडान लिएको छ, इतिहास जेजति गल्ती कमीकमजोरी भएपनि एमाले अहिले जसरी उभिएको छ, देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डताको पक्षमा र भारतीय विस्तारबादको डिजाइनका अगाडि एमालेले अडिनुपर्यो,’ उनले भने– ‘एमाले एक्लै छैन् हामी साथमा छौं नेपाली जनता साथमा छन् । देश बेचेर खानेहरुविरुद्ध नेपाली जनताले भण्डाफोर गर्नुपर्छ । यो प्रस्तावलाई पारित हुन दिनुहुन्न् र नेपाली जनताले आफ्नो खुबी देखाउनुपर्छ ।’

 

यसमा तपाईको प्रतिक्रिया