मधेसी मोर्चालाई कांग्रेसको आग्रह- संविधान संशोधनमा एमालेलाई फकाउनुस्

deuwa-ra-poudel-ko-guhar

फाइल फोटो

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनमा प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास गर्न मधेसी मोर्चालाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा तथा अन्य नेताहरुको लागातारको छलफल र वार्तापछि पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले संशोधन प्रस्तावविरुद्ध उभिएपछि कांग्रेसले अब एमालेलाई फकाउने जिम्मा मधेसी मोर्चालाई दिएको हो ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले एमालेसँग पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । ‘सरकार बनाउँदा भएको तीन बुँदे सहमति कार्यान्वयनमा हामी प्रतिबद्ध छौं । तर, संविधान संशोधनमा एमालेलाई कन्भिन्स गराउन मधेसवादी दलहरुका साथीले पनि पहल थाल्नुपर्छ । छलफल सम्वाद गर्नुपर्छ,’ निधिले भने ।

उनका अनुसार बैठकमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा छलफल भएको थियो । जसमा धेरैले असन्तुष्टि व्यक्त गरेका थिए ।

मधेसका माग सम्बोधनका लागि सरकारले संविधान संशोधनको तयारी गरेको छ । तर, संशोधन प्रस्तावमा असहमति जनाउँदै एमाले, राष्ट्रिय जनमोर्चा लगायतका विपक्षी दल आन्दोलनको तयारीमा जुटेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया