किन पछी हट्यो जनविरोधी संबिधान संशोधन बाट कांग्रेस-माओ गठबन्धन? यस्तो छ ५ मुख्य कारणहरु

काठमाडौं– सत्तारुढ दल कांग्रेस र माओवादी भित्रको आन्तरिक विवाद चर्केकाले शुक्रवारै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव दर्ता हुनेमै अनिश्चित हुन पुगेको छ । अघिल्लो सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउनुको औचित्य पुष्टि गर्ने एकमात्र आधार संविधान संशोधन हुने ठानिरहेको वर्तमान सत्ता गठबन्धन संशोधन प्रस्ताव दर्ता गर्ने तयारीबाट पछि हट्न वाध्य भएको हो । 

मधेसी मोर्चा जसको माग पूरा गर्नु पर्ने देखाएर संविधान संशोधन गर्न खोजिएको थियो । पछिल्लो पटक बाबुराम भट्टराई र उपेन्द्र यादवका दुई पार्टीको संयुक्त वक्तब्यले मधेसी मोर्चामा बिभाजन मात्रै आएन संविधान संशोधनको मुद्दामा पनि उनीहरुबीच आकाश जमिनको अन्तर देखिन पुगेको छ । त्यसमाथि यादवको बाबुरामसँगको मोर्चाबन्दीले सत्तारुढ माओवादीलाई झस्काउन पुगेको छ । आगामि चुनावबाट पनि तेस्रो दल बन्ने अपेक्षा गरिरहेको माओवादीलाई यादव र भट्टराईको सहकार्यले झस्काएको हो । सरकारको नेतृत्व गरेपछि राजनीतिक रुपले दिग्भ्रममा रहेको माओवादी केन्द्र बाबुराम उपेन्द्रको सहकार्य भइ त्यसबाट आएको मागका कारण झस्कनु स्वभाविक पनि हो । 

नेपालगञ्ज पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनबारे सरकारले लिखित प्रस्ताव नै नपठाएको दावी गरे । उनले सरकारले संविधान संशोधनको अन्तरवस्तु सहितको लिखित प्रस्ताव पठाएपछि र सो अनुरुपको प्रस्ताव संसदमा दर्ता गरेपछि मात्रै आफूहरुले मान्ने नमान्ने प्रतिक्रिया दिने वताए । यसको अर्थ प्रधानमन्त्री दाहालले मोर्चा सत्तारुढ दलहरुसँगै पर्याप्त गृहकार्य नगरी अन्य अदृश्य शक्तिले दिएको प्रस्तावका आधारमा संविधान संशोधनको गृहकार्य गरिरहेका थिए । 

अर्काेतिर माओवादीको वैचारिक लिगेसी बोकेको र तुलनात्मक रुपमा माओवादीको जनाधार रहेको रुकुम रोल्पा नै प्रधानमन्त्री दाहाल बिरुद्ध आन्दोलनमा अग्रसर देखिएको छ । प्रदेशको सीमाना हेरफेर गर्ने निर्णय बिरुद्ध रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा सबै पार्टीका कार्यकर्ता आन्दोलित छन् । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी लगायतका नेताहरुले संशोधनको विपक्षमा मतदान गर्ने चेतावनी नै दिएका थिए ।  

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने जमर्काे शुक्रवार र आइतबार दुई दिन नै भएको थियो । तर, तल्लो तहमा चलेको आन्दोलन र सामाजिक सञ्जाल मार्फत संशाधनका बिरुद्ध चर्काे आवाज उठ्न थालेपछि कांग्रेस र माओवादी दुबै पार्टी आन्तरिक छलफलमा जुटेका छन् । दुबै दलका बैठकमा संशोधन प्रस्ताव बिरुद्ध चर्काे रुपमा आवाज उठेको छ । केहीबेर अघि सकिएको कांग्रैस पदाधिकारी बैठकमा माओवादी जस्तो अस्थिर शक्तिको भर परेर पार्टीको साख गिराउन नहुने चर्काे अवाज उठेको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेको साथ नलिइ संविधान संशोधन प्रस्ताव दर्ता गर्न नहुने तर्क गर्दै जापान गएका छन् । 

यसले सोमबार मात्रै होइन अरु लामो समयका लागि संशोधन प्रस्ताव दर्ता हुने सम्भावना टारेको छ । सोमबार मन्त्रिपरिषदको बैठक बसी संशोधन प्रस्तावमा सहमति गरी दर्ता गर्ने सरकारले वताएको थियो । तर, सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भइसकेको छ । 

अर्काेतिर अहिले चर्चामा ल्याइएका विषयका लागि संविधान संशोधन आवश्यक नरहेको वताउँदै संशोधन प्रस्ताव ल्याए प्रतिवाद गर्ने तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेले जनस्तरमा झन् पछि झन् लोकप्रियता हासिल गर्दै जान थालेका कारण पनि सत्तारुढ दल यसबाट पछि हट्न वाध्य भएका छन् । कांग्रेस पदाधिकारी बैठकमा पनि यस विषयमा गम्भीर चर्चा भएको थियो । अहिलेसम्मका ७ प्रदेश मध्ये कांग्रेसको राम्रो ठानिएको प्रदेश नम्बर ४ को जनमत कांग्रेस विरुद्ध जान सक्ने कांग्रेस नेताहरुले आकलन गरेका थिए । सातवटै प्रदेशमा पार्टीको जनाधारबारे पनि नेताहरुले विश्लेषण गरेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया