देश टुक्र्याउने चेतावनी दिदै आएका सीके राउतले काठमाडौंमै दिए यस्तो धम्की, प्रचण्ड सरकार मौन

काठमाडौं, १४ मंसिर – स्वतन्त्र मधेसी गठबन्धनका नाममा तराईलाई नेपालबाट अलग गराउने उद्देश्यका साथ सक्रिय रहेका डा.सीके राउतले राज्यका तर्फबाट आफू र आफ्ना समर्थकहरूलाई हदैसम्मको दमन हुँदै आएको गुनासो गरेका छन् ।

तराईलाई अलग गराउने आफ्नो साढे चार वर्षे अभियानमा प्रहरीबाट भएको दमनका विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले एक पटक पनि विज्ञप्ति जारी नगरेको डा.राउतले गुनासो गरे । ‘स्वतन्त्र मधेस गठबन्धनको अभियान साढे चार वर्षमा पुग्दै गर्दा हाम्रा साथीहरूलाई प्रहरीबाट ठूलो दमन भएको छ’, उनले भने, ‘एम्नेष्टी इन्टनर नेशनलसहितका अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू हाम्रा पक्षमा बोलेका छन् । तर राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि विज्ञप्ति निकालेन । हाम्रो पक्षमा बोलेको छैन ।’ विगत एक वर्षमा ४० वटा राज्य विप्लवविरुद्धको मुद्दा खेप्दै आएको बताएका राउतले भने, ‘स्वतन्त्रताका लागि गरिएको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीबाट पटक पटक दमन भएको छ । दुःख दिइएको छ ।’ आगामी दिनमा आफूहरू अब चुप लागेर नबस्ने डा.राउतले चेतावनी दिए ।

मधेसी जनताले पटक पटक ठूलो योगदान दिएका बताएका डा.सीके राउतले भने, ‘यस पटक पनि मोर्चा र गठबन्धनले धोका दिने षड्यन्त्र गर्दै छन् । सरकारले पनि गम्भीर धोका दिँदै छ । होसियार १ यस पटक मधेसी जनताको बलिदानीलाई कुनै पनि बहानामा हामी खेर जान दिने छैनौँ । यो चेतावनी दिन चाहन्छौँ ।’

 

यसमा तपाईको प्रतिक्रिया