चुनावको मिति तय नभएसम्म भिडन्तकै अवस्थामा जानुपर्ने एमालेको निष्कर्ष, माताहतका संगठनलाई दिय तयारीको यस्तो निर्देशन

काठमाडौं, १४ मंसिर । चुनावको मिति तय नभएसम्म भिडन्तकै अवस्थामा पनि जानुपर्ने एमालेको तयारी छ । त्यसका लागि एमालेले युवा संघ र विद्यार्थी संगठनमा रहेका सवैलाई परिचालन गरिसकेको छ । राष्ट्रवादी कित्तामा उभिएका कारण अहिले निर्वाचन भए स्थानीय निकायमा कव्जा जमाउनसक्ने अनुमान गरेको एमालेले सरकारको कामलाई विफल पार्ने रणनीति पनि तय गरेको छ । सरकारले ल्याउन लागेको संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लाहरुमा विरोध र प्रतिरोधमा पनि एमालेको सहभागीता सक्रिय रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले निकै जोड दिएर सक्रियताका साध प्रतिरोध गर्नका लागि निर्देशन जारी गरिसकेका छन् । संसदमा एमाले गाणितिय रुपमा कमजोर हुँदै गएपछि ‘संविधान जारी भएपछि आन्दोलनको समय सकिएको’ भन्ने आफ्नै भाषणविपरीत आँधीबेहोरीको चेतावनी दिनुपर्ने अवस्थामा उनी पुगेका छन्। विषेशगरी राप्रपा नेपाल–राप्रपाबीचको एकीकरण र उक्त पार्टीको सरकारतिर झुकाब बढेको संकेतपछि एमाले सबै ठाउँबाट प्रतिरोध गर्ने तयारीमा छ । सदनमा प्रतिरोधको तयारी गरेसँगै सडकमा पनि युवा र विद्यार्थीलाई ल्याएर बरु भिडन्तै गर्नेमा मुडमा ओली पुगेका छन् । यसमा नेता माधवकुमार नेपाल र झलनाथ खनालको पनि साथ रहेको छ । त्यसो त ओलीले राष्ट्रियताको सवालमा सम्झौता नहुने भित्र र बाहिर बोल्दै आइरहेका छन् ।

भारतले दबदबा राख्न आफ्नो सरकार गिराएका कारणले पनि ओली नयाँदिल्लिसँग चिढिएका छन् । उनले दिल्लिमा पुगेर आफ्नो हुर्मत लिने काम गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको सेखी झार्ने आन्तरिक वैठकमा भन्दै आइरहेका छन् । एमालेलाई सरकारमा जान नदिनका लागि माओवादीले भारत कार्डको उपयोग गरेको र मधेसमा एमाले समाप्त पार्नका लागि संशोधनका नाममा भारतसँग सम्झौता गरेको ओलीको ठम्याई छ । ‘एमालेलाई मधेसमा सिध्याउने नीतिमा माओवादी लाग्यो, कांग्रेसको कार्डको रुपमा उभियो र एमालेसँग सिँगौरी खेल्ने कोशिश गरेको छ, उसलाई संसदीय पद्दतीको पाठ सिकाउनैपर्छ, कडा प्रतिरोधमा लागौं’, एमालेका सवै मोर्चाका नेताहरुलाई ओलीले सम्झाए,‘एमालेले बहुमत ल्याउन पनि जनतामा जागेको राष्ट्रियताको मुद्दालाई अहिले छाड्न हुन्न ।’

१ सय ८२ सीट रहेको एमालेले संशोधनको विपक्षमा उभिँदा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र अन्य साना दलको पनि साथ लिने योजना बनाइएको छ । राप्रपालाई भारतले उपयोग गरेको एमालेको निष्कर्ष छ । ‘राप्रपा नआएपनि बहुमत नपुग्ने अवस्था आउँछ, त्यसअघि संशोधन प्रस्ताव नै टेबुल हुन दिन हुँदैन, संसदमा र सडकमा एमाले देखिनुपर्छ ।’, उनले निकटस्थ नेताहरुलाई भने,‘संगठन नै नभएका पार्टीको आन्दोलनमा मान्छे आउँछन् भने एमालेको आन्दोलनमा आँधीबेहरी नआउने कुरै छैन ।’ एमाले प्रचार प्रमुख योगेश भट्टराईले संशोधन प्रस्ताव दर्ता गरिए त्यही अनुसार पार्टीपंक्ति परिचालन हुने बताए । उनले औचित्य पुष्टि नहुने प्रस्तावको कडा प्रतिवाद गर्न एमालेको सबै तह र तप्का तयार रहेको बताए । जनप्रहार साप्ताहिकमा समाचार छ । 

यसमा तपाईको प्रतिक्रिया