सी जिन पिङको गृहनगरका जनतालाई नेपाल भ्रमण गराउन चाहन्छ चीन

chinia-toli
काठमाडौँ, मङ्सिर १४ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको साङ्सी प्रान्तका उपगर्भनर याओ यिनलियाङ (थ्बय थ्ष्लष्बिलन) नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उनले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए ।

भेटका अवसरमा मन्त्री पाण्डेले विसं २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए । भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणमा चीनले गरेको सहायताप्रति धन्यवाद दिदै मन्त्री पाण्डेले नेपालको विकासमा चीनको सहयोग सह्राननीय रहेको बताए ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँगको सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्रिने बताए । लुम्बिनी र साङ्सीबीच सिधा हवाई सम्पर्क हुन नसक्दा पर्यटन प्रवद्र्धनमा समेत समस्या आएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले भैरहवा विमानस्थल निर्माणमा समस्या देखिए सरकारले समाधान गरिदिने अपेक्षा राखेको बताएको थियो ।

सो अवसरमा मन्त्री पाण्डेले भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साङ्सी चीनमा सबैभन्दा बढी बौद्धमार्गी रहेको प्रान्त हो भने चीनका वर्तमान राष्ट्रपति सि जिङ पिङको गृह नगर हो । सो अवसरमा उहाँहरुबीच उपहार आदानप्रदानसमेत भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया