संशोधनको विषयमा भारतले हस्तक्षेप गर्न खोज्यो : नेता झलनाथ खनाल

सर्लाही, १४ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको विषयलाई लिएर छिमेकी मुलुक भारतले यसो गर उसो गर भनेर नेपालको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार सर्लाहीको लालबन्दीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो बताएका हुन् । उनले २०७४ साल माघ ७ गते भित्र तीनै तहको निर्वाचन गर्न नसके संविधान संकटमा पर्ने बताए ।  स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन नगरेसम्म संविधान कार्यान्वयन नहुने उनको धारणा थियो ।

उनले संशोधनको बखेडा झिकेर केही देशी विदेशी शक्तिहरु संविधान कार्यान्वयनमा बाधक बनिरहेका आरोप लगाए । देशको स्वाभिमानलाई बचाउनका लागि नेकपा एमाले अंगिकृत नागरिकता लिएका व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख लगायत संवैधानिक निकायको प्रमुख बनाउनु हुँदैन भन्ने पक्षमा उभिएको नेता खनालले बताए ।

संविधानमा नेकपा एमालेको पनि केही मतविरोध रहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले मुलुकमा प्रधानमन्त्री र राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी उभिएको तर्क गरे । सर्लाहीको घुर्कौलीमा आयोजित प्रदेश नम्बर २ को पहिलो बैठकलाई उद्घाटन गर्न खनाल सर्लाही पुगेका हुन् ।

 

यसमा तपाईको प्रतिक्रिया