जनभावना बिपरित गरिएको संबिधान संशोधन प्रस्तावको एक्लो बिरोधि बने रक्षामन्त्री बालकृष्ण खाँड, प्रचण्ड सरकारले सुनेन रक्षामन्त्रीकै कुरा

काठमाडौं, १४ मंसिर । सरकारले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा रक्षामन्त्री बालकृष्ण खाँडले असन्तुष्टि जनाएका छन् ।balkrishna-khand

स्रोतका अनुसार जनभावना विपरित पाँच नम्बर प्रदेश टुक्राउन खोजिएपछि खाँडले संशोधन प्रस्तावमा असन्तुष्टि जनाएका हुन् । खाँड पाँच नम्बर प्रदेशस्थित रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेसका प्रभावशाली नेता हुन् ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावमा सबै मन्त्रीहरुको धारणा सुनेका थिए । जसमा खाँडले असन्तुष्टि जनाउँदै विरोध गरे । तर, बहुमत सदस्यहरु संशोधनको पक्षमा देखिएपछि खाँडको विरोध हुँदाहुँदै पारित गरियो ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको छ ।

सीमांकनमा संविधानको अनुसूची ४ मा संशोधन गर्दै प्रदेश नं ४ र प्रदेश नं ५ को सीमाङ्कनमा हेरफेर गरिएको छ । संशोधनमा प्रदेश नं ४ मा भएका जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रोल्पा, प्यूठान र रुकुमको पूर्वी भागलाई राखिएको छ ।

त्यसैगरी नवलपरासी (बर्दघाट सुस्तादेखि पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई प्रदेश नं ५ मा राखिएको छ ।

रक्षामन्त्री खाँडले सोमबार बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकमा पनि पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरोध गरेका थिए । उनले सभापति शेरबहादुर देउवाविरुद्ध नजाने तर, जनतालाई कन्ट्रोल गर्न गाह्रो हुने चेतावनी बैठकमै दिएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया