जनार्दनलाई कारवाही गर्ने प्रचण्डको प्रस्तावलाई देउवाले यसरी रोके

काठमाडौं, १५ मंसिर । एकाबिहानै प्रचण्डले शेरबहादुर देउवालाई भेटेर भने, ‘अब भएन, मेरो पार्टीमा पूरै अराजकता बढ्यो । म जनार्दनलाई कारबाही गर्छु । मन्त्रीबाट पनि निकाल्छु ।’ तर, देउवाले त्यसमा समर्थन जनाएनन् ।

उनको धारणा थियो, ‘हुन्न, हुँदै हुन्न । मलाई अप्ठेरो हुन्छ । त्यसै त सबै कांग्रेसी एमालेको पुच्छर बन्नुहुँदैन भन्दै छन् । मलाई निर्णय गर्न गाह्रो पर्छ ।’ यो संवाद लोकमानविरुद्ध महाभियोग संसद्मा दर्ता भएको भोलिपल्ट अर्थात् असोज १९ गते बिहान दुई शीर्ष नेताबीच भएको हो ।

रातभरि निद्रा नलागेपछि प्रचण्डले एकाबिहानै देउवालाई बालुवाटार बोलाएर सल्लाह लिएका थिए । शेरबहादुरले पूरै हस्तक्षेपको भाषामा रोकेपछि रातभरिको निर्णय परिवर्तन गर्न प्रचण्ड बाध्य भएको बताइन्छ । बरु देउवाको सुझाव थियो, ‘पहिले लोकमानको किस्सा टुंग्याऊँ, त्यसपछि जे मन लाग्छ गर्नुस् ।’

प्रचण्ड नआत्तिऊन पनि किन ! साँझ साँढे ८ बजे दिनभरिको थकाइ मेट्न विश्रामकक्षतिर जाँदै गर्दा अमरेशकुमार सिंहको फोन आयो, ‘हैन के गर्या त्यस्तो ! तपाईंका सांसदको पनि हस्ताक्षर छ त !’ प्रचण्ड पनि जंगिए, ‘एमालेका सांसद कसरी मेरा हुन्छन् ? मेरो पार्टीले के गर्‍यो, के गरेन त्यो तपाईंलाई थाहा हुन्छ कि मलाई ?’

अमरेशले प्रमाण पेश गरे, ‘नपत्याए अनलाइनमा हेर्नू न ! सबैको हस्ताक्षरसहितको सूचि छ ।’ प्रचण्डले आफ्नो सचिवालयलाई अह्राए, ‘ए केटा हो, अनलाइन हेर त ।’ त्यसबेला उनी छक्क परे जब सन्तु दराईजस्ता आफ्ना अति विश्वासिलाको समेत हस्ताक्षर देखे अनि जनार्दनको पहलकदमीमा महाअभियोग दर्ता भएको पुष्टि भयो ।

प्रचण्ड स्वयंले सार्वजनिक रुपमा बताइसकेका छन्, त्यो रात उनी निदाउनै सकेनन् । बालुवाटार स्रोतका अनुसार प्रस्ताव दर्ता भइरहँदा साँझ प्रचण्ड नरेन्द्रजंग पिटरलगायत केही माओवादी विश्लेषकसँग कुरा गर्दै थिए । त्यसैबेला सहयोगीले फोन ल्याएर दिए ।

फोनमा सभामुख ओनसरीले भनेकी थिइन्, ‘एमालेका साथीले महाअभियोग दर्ता गराए ।’एक सहभागीका अनुसार निकै हतास हुँदै उनले छलफल टुंग्याएका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।

 

यसमा तपाईको प्रतिक्रिया