संविधान संशोधनविरुद्ध अनेरास्ववियु र युवा संघ सडकमा उत्रियो, बानेश्वरमा विरोधसभा

काठमाडौं, १५ मंसिर । संविधान संशोधन प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेका भातृ संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले मंगलबार राति चोर बाटोबाट राष्ट्रघाति संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भन्दै युवा संघ नेपाल र अनेरास्ववियुले आजदेखि सडक आन्दोलन थालेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत आज दिउँसो ३ बजे नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडि विशाल विरोध प्रर्दशन हुने भएको छ ।

अनेरास्ववियु महासचिव ऐन महर र युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले सार्वजनिक रुपमै बिरोध सभामा सहभागी हुन अपिल गरेका हुन् ।

महेश बस्नेतले भनेका छन– ‘फेरि एकपटक देश बेच्ने प्रस्ताब दर्ता भएको छ आज संसदमा, देशलाई रुवान्डा र सिरिया अनि सुडान र हैटि बनाउन चाहनेहरुबाट बनेको पाल्तु कुकुर सरहको यो सरकारबिरुद्ध देश बचाउने एक अन्तिम जेहाद सफल पारौं ।’

अनेरास्ववियुका नेता ऐन महरले जनताको इच्छा बिपरित, राष्ट्रिय हित बिपरित, देश बिरोधी तत्वहरुको निर्देशनमा संबिधान संशोधनको प्रस्ताब दर्ता भएकाले यसको बिरुद्धमा देशभक्त युवाहरु उतारेर अब जनता जागे भन्ने सन्देश दिन र सो प्रस्ताव असफल बनाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।

मुलुकलाई बिखण्डन गर्ने र सधैका लागि यो देशलाई अस्थिर र कमजोर बनाउने योजना मुताबिकको यो राष्ट्रघाति प्रस्ताब आएको भन्दै युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले देशभक्त युवाहरुलाई सडकमा आउन अपिल गरेका छन ।

 

यसमा तपाईको प्रतिक्रिया