बुटवल तनावग्रस्त,पुर्व-पश्चिम राजमार्ग ठप्प: प्युठान, रोल्पा, अर्घाखाँची बन्द कोहलपुरका जनता सडक आन्दोलनमा

१५ मंसिर । सरकारले मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेर ५ नम्बर प्रदेशलाई टुक्र्याउन चाहेपछि यतिबेला सो प्रदेशका जनता आन्दोलनमा उत्रिएका छन् । सीमाङ्कन हेरफेरसहित संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि बुटवल क्षेत्रमा स्थानीय जनताले यातायात ठप्प पारेका छन् ।butawal-aandolan

५ नम्वर प्रदेश टुक्र्याएको विरोधमा विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बुधबार बिहानैदेखि चक्काजाम गरेका छन् । चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् । ५ नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठानका साथै रोल्पा र रुकुमको पूर्वी भाग छुट्याएर ४ नम्बर प्रदेशमा गाभ्नेगरी संशोधन प्रस्ताव दर्ता गरिएको छ । पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहँुदासम्म आन्दोलन जारी रहने जनाइएको छ ।

भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सामिप्यता समेटिएका ५ नम्वर प्रदेशलाई टुक्रयाउन नहुने धारणा स्थानीय जनताले राखेका छन् । बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत बुधबार बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ । यसैगरी, कोहलपुरमा पनि स्थानीयहरुले आन्दोलन गरिरहेको जनाइएको छ ।

यसैगरी, संविधान संशोधनको विषयलाई लिएर युवा सङ्घ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा विरोध गर्ने भएका छन् । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा सङ्घ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

सरकारले गरेको संविधान संशोधनको सातबुँदे प्रस्ताव फिर्ता नलिएसम्म त्यसविरुद्ध आन्दोलन गर्ने र अन्य विद्यार्थी र युवा सङ्गठनलाई समेत समेटने निर्णय भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।

यसमा तपाईको प्रतिक्रिया