भैरहवा ठप्प, आपूर्ति मन्त्रि बोहरा र रक्षामन्त्री खाँणको राजिनामा माग्दै जनता सडकमा

भैरहवा, १५ मंसिर । सरकारले मंगलबार सांझ संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा रुपन्देही सदरमुकाम भैरहवामा बुधबार चक्काजाम भएको छ ।

संविधान संशोधनमा नगारिकता सम्बन्धी व्यवस्था, भाषीक हेरफेर र ५ नम्बर प्रदेशलाई टुक्राउनेगरी गरेको प्रस्तावको विरोधमा चक्काजाम गरिएको एमाले नेता हितराज पन्थीले जानकारी दिए ।

एमाले नेता पन्थिका अनुसार भैरहवामा बुधबार दिउंसो १२ बजेदेखी १ बजे सम्म चक्काजाम भएको थियो । जसका कारण भैरहवादेखी बुटवल, लुम्बिनी, काठमाण्डौं, पोखरा तथा पुर्व काकडभिट्टा सम्म चल्ने यात्रुबाहक बस, गाडी तथा मालबाहक सवारी साधन सबै सडकमा ठप्प भएका थिए । एक घन्टाको चक्काजामको कारण अहिले सम्म प्रहरीलाई भैरहवा क्षेत्रमा ट्राफिक व्यवस्थापनमा कठीनाई सृजना भइरहेको छ ।

चक्काजामका सहभागीहरुले ५ नम्बर प्रदेश टुक्राउन पाइदैन भन्दै चर्का नाराबाजी गरेका थिए भने उनीहरुले भैरहवा क्षेत्रबाटै निर्वाचित भई हालको मन्त्री परिषदमा रहेका आपुर्ति मन्त्री दीपक बोहरा र रुपन्देही ३ नम्बर क्षेत्रबाट निर्वाचित भई हालको मन्त्री परिषदमा रक्षामन्त्री रहेका बालकृष्ण खाणको समेत चर्को आलोचना गरेका थिए । राप्रपा महामन्त्री बोहरा र कांग्रेस प्रभावशाली नेता खाणले ५ नम्बर प्रदेश टुक्राउने विषयमा मन्त्री परिषदमा सहमति प्रदान गरेको र बाहिर असन्तुष्टी व्यक्त गर्नुको कुनै अर्थ नभएको भन्दै नागरिकहरुले बोहरा र खाणलाई गद्धार नेता भएको भन्दै तत्काल उनीहरुले जनभावना कदर नगरे उनीहरुकै विरुद्धमा जाइलाग्ने समेत चेतावनी दिएका थिए । सहभागीहरुले मन्त्री खाण र बोहराको राजीनामा समेत मागेका छन् ।

चक्काजाम कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा लगायत राजनैतिक दलका नेता कार्यकर्ता, नगारिक समाज, संघसंस्थाका प्रमुख , यातयात व्यवसायी, पर्यटन व्यवसायी, होटल व्यवसायी, उद्योगी व्यापारी, पत्रकार तथा युवा विद्यार्थिहरुको उल्लेख्खय सहभागीता रहेको थियो ।

सरकारले प्रस्ताव फिर्ता नगरे भोली देखी अझ कडा आन्दोलन गर्ने भैरहवाबासीले जनाएका छन् । भोली दिउंसो १२ बजेदेखी २ बजे सम्म पुनः भैरहवामा चक्काजाम आहवन गरिएको नेता पन्थिले जानकारी दिए ।

 

यसमा तपाईको प्रतिक्रिया