संविधान संशोधन प्रस्तावविरुद्ध गुल्मीका सबै सांसद एकजुट, संसद तताउने

गुल्मी, १५ मंसिर । गुल्मीबाट निर्वाचित सांसदहरुले मगंलबार साँझ सरकारले संसदमा दर्ता गरेको सविधान सशोधनको विरोध गरेका छन् । उनीहरुले प्रस्ताव कुनै हालतमा पास नहुने ठोकुवा पनि गरेका छन् ।

गुल्मी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गोकर्ण बिष्टले ५ नम्बर प्रदेशको सीमांकनमा कुनै फेरबदल नहुने बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव समेत रहेका विष्टले सशोधन प्रस्तावको धज्जी उडाउँदै यो प्रस्ताव कुनै हालतमा पारित हुन नदिने चेतावनी दिए । उनले आफूलाई जनताहरुले जनताहरुकै चाहना अनुसार काम गर्नका लागि जनप्रतिनिधि बनाएर पठाएकाले जनताको चाहना विपरित जान नसक्ने बताए । मंगलबार राति नै बिज्ञप्ती निकाल्दै प्रस्तावको देशव्यापी धज्जी उडाउने भन्दै यसको विरुद्धमा सडक र सदनमा दुवै ठाउँमा कडा विरोध गर्ने जनाएका थिए ।

यता सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले पनि यो प्रस्तावमा असन्तुष्टि जनाएका छन् । भण्डारीले ५ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्राउन नहुने बताउदै उनले प्रस्तावको विपक्षमा संसदमा मत हाल्ने घोषणा गरेका छन ।

‘यो प्रस्ताव कुनै पनि अवस्थामा पारित हुँदैन्’ उनले भने– ‘म यस प्रदेशका जनताहरुको चाहाना विपरित जान चाहन्न ।’ प्रदेश नम्बर ५ लाई टुक्राउने विषयमा गुल्मीबाट प्रतिनिधित्व गर्ने सबै सांसद एक ठाउँमा उभिएका हुन ।

यता मालेकी सांसद कमला बिश्वकर्माले पनि सरकारले दर्ता गरेको प्रस्तावको विरुद्धमा सदन तताउने बताएकी छन् । ‘आम जनताहरुको हितविपरित सरकारले जुन कदम चालेको छ यो हामीहरुलाई कुनै पनि अवस्थामा मान्य छैन्,’ उनले भनिन्– ‘घर र आँगनलाई घर एक प्रदेशमा आँगन अर्को प्रदेशमा पनि कहि हुन्छ र त्यसकारण पनि प्रस्ताव पारित हुनैसक्दैन ।’

यस्तै एमाले सांसद दिलशोभा पुन खड्काले पनि सरकारले दर्ता गरेको सशोधन प्रस्ताव पारित नहुने बताइन् । बुधवार दिउँसो नेकपा एमाले पाटी कार्यालय गुल्मीमार्फत प्रेस बिज्ञप्ति जारी गर्दै जनताको चाहना विपरित दर्ता भएको प्रस्ताव पारित नहुने बताएकी हुन ।

सीमाङ्कन लगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पूर्ण समर्थन समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया