संविधान संशोधनविरुद्ध आन्दोलनमा उत्रिएका एमाले नेता कार्यकर्तालाई आयो दुःखद खबर!

yemale-ko-offis-ma-aago

परासी, १६ मंसिर । नेकपा (एमाले) नवलपरासीको पार्टी कार्यालयमा अपरिचित समूहले आगो लगाउने प्रयास गरेको छ ।

सदरमुकाम परासी बजारमा रहेको पार्टी कार्यालयमा बुधबार राति अपरिचित समूहले आगो लगाउने प्रयास गरेको बताइएको छ ।

मिनरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा प्रहार गरेको देखिएको एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिनुभयो । बुधबार राति पार्टी कार्यालयमा आगो लगाउने प्रयास भएको उहाँले बताउनुभयो ।

आगो कसले र किन लगाउन खोजेको हो खुल्न नसकेको संयोजक पासीले उल्लेख गर्नुभएको छ ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध एमाले विरोधमा उत्रिएका बेला नवलपरासीको पार्टी कार्यालयमा आगो लगाउने प्रयास भएको छ ।

एमालेको पार्टी कार्यालय बसेको दुई तले भवन निजी भवन हो । आगलागीबाट भवनको भुइतलाको झ्याल डढेको छ । झ्यालका सिसा फुटेका छन् । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ ।

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यसअघि पनि गतवर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा पार्टी कार्यालयमा तोडफोड भएको थियो ।

२०६७ वैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । भवनमा आगो लगाउने क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु समेत भएको थियो भने १२ जना घाइते भएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया