मध्यरातसम्म चलेको वार्ता असफल राजीनामा गएर अड्कियो, कुरा

काठमाडौं, १७ मंसिर । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा.डा. केपी सिंहले राजीनामा दिन नमानेपछि केसीले अनशन जारी राखेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डा. केसीको प्रमुख माग छ ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए ।

यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन ।

कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डा. केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको थियो ।

स्रोतका अनुसार दुवै मन्त्रीले डिन सिंहलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर, सिंहले आफूले आइओएमका फ्याकल्टीहरूसँग छलफल गर्नुपर्ने र आफ्नो राजीनामाले समस्या समाधान हुनेमा शंका व्यक्त गरेका थिए ।

डा. केसी पक्षले बुधबारको छलफलमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्न कुलपति तथा सहकुलपतिको प्रतिबद्धता खोजेका थिए ।

समितिले बिहीबार डिन नियुक्तिको मापदण्डबारे उपकुलपतिलाई प्रतिवेदन बुझाएको छ ।

सोही प्रतिवेदन अध्ययन गर्न र फ्याकल्टीसँग छलफल गर्न पाउनुपर्ने अडान राखेर डा. सिंहले राजीनामा दिन मानेका थिएनन् ।

यसमा तपाईको प्रतिक्रिया