कांग्रेस र माओबादीका दुइ प्रभावशाली नेता चन्द्र भण्डारी र टोपबहादुर रायमाझीलाई एमालले गर्यो आत्मीय स्वागत, दुवै नेता खुसीले मख्ख

भैरहवा, १७ मंसिर । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध बुधबारदेखि पाँच नम्बर प्रदेशका जनता आन्दोलनमा उत्रिएका छन् ।chandra-top

जनताको आन्दोलनलाई जनताका केही प्रतिनिधिले आफ्नो पार्टी नभनी पनि समर्थन जनाइरहेका छन् । जसको अग्र स्थानमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु छन् । त्यसैगरी सत्तारुढ कांग्रेस, माओवादीका केही नेतापनि सामेल छन् ।

जनताको आन्दोलनमा समर्थन जनाउँदै आफ्नो पार्टी लत्याएर जनतासँगै सडकमा उत्रिनेमा विशेषगरी कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझी छन् ।

उनीहरु शुक्रबार एमालेका शीर्ष नेताहरु वामदेव गौतम, विष्णु पौडेल र घनश्याम भुषालसँगै जनताको आन्दोलनलाई साथ दिन पाँच नम्बर प्रदेशको भैरहवा पुगेका छन् ।

उनीहरुले बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसै सिलसिलामा पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रमुख तीन दलकै उनीहरु शुक्रबार दिउँसो भैरहवा विमानस्थल उत्रिए । जहाँ अनौठो दृश्य देखियो ।

bamdev-chandra-top-bishnu

नेपाली राजनीतिको इतिहासमै कांग्रेस र माओवादीका नेतालाई विमानस्थलमा एमाले नेता कार्यकर्ताले भव्य स्वागत गरे । पार्टीको निर्णय लत्याउँदै भैरहवा आन्दोलनमा पुगेका चन्द्र भण्डारी र टोपबहादुर रायमाझीलाई स्वागत गर्न कांग्रेस र माओवादीका एउटा पनि कार्यकर्ता विमानस्थल आएनन् ।

सँधै नेताहरु जिल्ला आउँदा स्वागत गर्न दौडधुप गर्ने कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ता शुक्रबार चन्द्र र टोपबहादुर आउँदा विमानस्थलमा नदेखिएका हुन् ।

एमाले नेताहरु सँगै आएका कांग्रेस माओवादीका नेतालाई एमाले केन्द्रीय सदस्य लिला गिरी, जिल्ला अध्यक्ष शिवराज सुवेदीसहित विमानस्थल पुगेका एमालेका नेता, कार्यकर्ताले स्वागत गरे ।

एमालेका दर्जनौँ नेता, कार्यकर्ताले आफ्ना नेताहरुलाई भन्दा कांग्रेस र माओवादीका नेता भण्डारी र रायमाझीलाई जनताको पक्षमा बोलेकोमा धन्यवाद दिँदै स्वागत गरेको दृश्य हेर्न लायकको थियो ।

एमाले नेता कार्यकर्ताको न्यानो स्वागत पाएपछि चन्द्र र टोपबहादुर मख्खै थिए ।

 

यसमा तपाईको प्रतिक्रिया