ओलीको योजना हुने भयो पुरा, चीनले बनाउने भयो रसुवागढी-काठमाडौं रेल्वे सेवा: ९० किमी सुरुंग ८ किमी जमिन बाहिर र ७ किमी पुल हुदै १ घन्टामा काठमाडौं आइपुग्ने यस्तो छ प्रस्ताव

rasuwa-ktm-railकाठमाडौं, १२ पुस– चिनियाँ सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल्वे इन्टरनेशनल ग्रुपले नेपालको रेल विभागमा २३६ दर्ता नम्बरमा दर्ता गरेको रसुवागढी–काठमाडौं रेल्वे निर्माण प्रस्ताव अनुरुप काम अघि बढ्न सकेको छैन । गत वर्ष चैत ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदा नेपाल र चीनबीच पारवहन र यातायात लगायत सम्झौता गरेपछि तीनवटा चिनियाँ रेल्वे कम्पनीले काठमाडौं–रसुवागढी–केरुङ र काठमाडौं–पोखरा लुम्बिनी रेल्वे सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका थिए । 

सो अध्ययन प्रतिवेदन अनुरुपको रेल्वे निर्माण सम्बन्धी प्रस्ताव पुस ११ गते रेल विभागमा चाइना रेल वे इन्टरनेशनल ग्रुपले २३६ नम्बरमा दर्ता गराएको थियो । कम्पनीले दर्ता गराएको प्रस्तावमा चीन सरकारले ७० प्रतिशत सहुलियत ऋण प्रदान गर्ने र नेपाल सरकारले ३० प्रतिशत लगानी गरी रेल्वे निर्माण गरिने उल्लेख छ । १८ अर्व युयान खर्च गरेर चाइना रेल्वे इन्टरनेशनलले आफैं रेल्वे बनाउने र नेपाल सरकारले पूर्ण रुपमा त्यसको स्वामित्व र नियमन गर्न सक्ने प्रस्तावमा उल्लेख गरेको छ । 

एक घन्टामा ६ स्टेशन पार गर्दै काठमाडौं 
चाइना रेल्वे इन्टरनेशनल ग्रुपले निर्माण गर्ने रेल एक घण्टा भन्दा कम समयमै रसुवागढीबाट काठमाडौ ओहोर दोहोर गर्ने छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतीय रेल्वेको लम्बाई जम्मा १०५ किलोमिटरको हुनेछ । एक घन्टामा १२० किलोमिटर दूरी पार गर्ने प्रस्तावमा उल्लेख छ । रसुवागढीबाट काठमाडौं आइपुग्दा साढे आठ किलोमिटर मात्र जमिनमाथि रेल घस्रिनेछ भने, ९० किलोमिटर जमीनमुनी सुरुङमा रेल चल्नेछ । यस्तै करिव ७ किलोमिटर पुलमाथि रेल दौडिने प्रस्तावमा जनाइएको छ । 

रसुवागढीबाट काठमाडौं आउँदा बीचका विभिन्न ६ वटा स्थानमा रेल स्टेशन हुनेछ । पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोस्रो स्टेशन स्याफ्रुबेसीमा र तेस्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । यस्तै चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने प्रस्तावमा उल्लेख छ । १ करोड ५० लाख टन समान बोक्न सक्ने चिनियाँ रेल दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । 

रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार चाइना रेल्वे इन्टरनेशनल ग्रुपले चिनियाँ सरकारको दीर्घकालीन सहुलियत ऋणमा यस्तो रेल मार्ग निर्माण गर्न सकिने र तत्कालै दुई सरकारबीच सम्झौता गरी काम थाल्न सकिने वताएको छ । 

तर, दुई देशका सरकारबीच तत्कालै सम्झौता गरेर रेल्वे निर्माण गर्ने पक्षमा चीन भए पनि नेपालबाट त्यसप्रति आवश्यक चासो दिइएको छैन । नेपाल पक्षले चासो नदिएकै कारण नेपाल–चीन पारवहनको प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन भने पारवहनका लागि महत्वपूर्ण मानिएको रेल्वे र यातायात पूर्वाधार निर्माण सम्बन्धी काम पनि अघि बढ्न सकेको छैन । 

तर नेपाल नै उदासीन 
गत वर्ष चैतमा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला केही महिना अघि मात्रै भारतले नेपालमाथि ७ महिना लामो नाकाबन्दी लगाएको पृष्ठभूमिमा ओलीले चीनसँग, पारवहन र यातायात लगायत अन्य महत्वपूर्ण १० सम्झौता गरेका थिए । सम्झौता लगत्तै चिनियाँ पक्षले नेपालको रेल्वेवारे सम्भाब्यता अध्ययन गर्न टोली खटायो र तीनवटा चिनियाँ कम्पनीले प्रारम्भिक चरणको अध्ययन गरी केरुङ–काठमाडौ–पोखरा लुम्बिनीलाई रेलले जोड्न सम्भव रहेको छुट्टा छुट्टै प्रतिवेदन बुझाए । 

तर, त्यसै बीचमा नेपालमा सरकार परिवर्तन भयो र भारतले चीनसँग नजिक रहेको आरोप लगाएको ओली नेतृत्वको सरकार विस्थापन गरी पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भयो । भारतीय अखवार र बुद्धिजीवीहरुले घोषित रुपमै भनेका थिए– ‘नेपाल चीनको नजिक जाँदैछ, नेपालमा चिनियाँ रेल आउँदैछ, यो भारतका लागि घातक छ । त्यसैले ओलीको सरकार परिवर्तन गर्नु परेको हो ।’ 

हुन पनि त्यसबेला भारतीय मिडियाले भविश्यवाणी गरे अनुसार नै कात्तिकमा तय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित भयो । नेपाल–चीनबीच उच्चस्तरमा भएका सम्झौता अनुरुपका पारवहन प्रोटोकल सम्झौता गर्ने र रेल्वेका लागि चीनले सहयोग गर्ने तथा सो प्रयोजनका लागि चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण कात्तिकमा हुने मोटामोटी तय भएको थियो । सरकार परिवर्तनपछि चिनियाँ राष्ट्रपतिको भ्रमण रोकेर भारतीय राष्ट्रपतिको भ्रमण तयारीलाई तिब्रता दिइयो र नेपाल–चीनबीचको उच्चस्तरीय सम्झौता अनुरुपका प्रोटोकल सम्झौतामा पनि नेपाल पक्ष उदासीन रहन पुग्यो । 

गुगल म्यापमा हेर्नुहोस यस्तो हुनेछ रेलमार्ग 

श्रोत: चक्रपथ.कम

यसमा तपाईको प्रतिक्रिया