मधेसमा एमाले पत्तासाफ भन्नेलाई अर्को झट्का, मधेसीले नै लगाय- “केपी ओली आओ, हमारा देश नेपाल बचाओ” नारा

संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शुक्रवार राजधानीमा एमाले सहितका संसदमा प्रतिनिधित्व गर्ने नौ दलले गरेको प्रदर्शनको सबैभन्दा आकर्षण थियो मधेसी समुदायका नागरिकहरुले लगाएको नारा ।

संविधान संशोधनको विरोध गर्नुलाई मधेसको विरोध गर्नु र मधेसी मोर्चाका ४ जना नेताको प्रस्ताव अस्वीकार गर्नुलाई मधेसी समुदायको विरोध गर्नु हो भन्ने आम सञ्चारले समेत नाराकै रुपमा स्थापित गरिरहेका बेला एमालेको जुलुशमा सहभागि भएका मधेसी र मुस्लिम समुदायले भने त्यस भन्दा ठीक विपरित नारा लगाए ।

लोकतान्त्रिक मधेसी संघको ब्यानरमा रहेका मधेसी र मुस्लिम संघको ब्यानरमा रहेका जुलुशमा उनीहरु सहभागि थिए ।

‘ओली अव देश बचाव’
उनीहरुले मैथिली, भोजपुरी र अवधी भाषामा नारा लगाएका थिए । ‘मधेसके अलग नामिली’, ‘देश टुक्रावे के नामिली’, ‘ओली आव, देश बचाव’ आदि आदि नारा लगाएका थिए । संविधान जारी गर्न नेतृत्वदायि भूमिका खेलेपछि भारतीय पक्ष र मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी पार्टीको रुपमा आक्रमण सुरु गरेको थियो । एमालेको जुलुशमा सहभागिहरु मैथिली, भोजपुरी, अवधी, थारु, नेवारी, मुस्लिमका मौलिक पहिरनमा जलुशमा सहभागि हुनेको संख्या ठूलो थियो ।
 

मञ्च देख्न सकस
प्रदर्शनपछिको सभाका लागि भृकुटी मण्डप र राष्ट्रियसभाबीचको सैनिक मञ्चसँगै जोडिएको सडकमा मञ्च बनाइएको थियो । मञ्चको सिधा अगाडि प्रदर्शनीमार्गको सडकमा पद्मोदय मोडसम्म सहभागिहरु बसेका थिए । त्यता नअटेका सहभागिहरु भृकुटीमण्डप र बसपार्कतर्फको क्षेत्रमा पनि बसेका थिए । मञ्च अगाडि देखि पद्मोदय मोडसम्मको सडकको दूरी लामो भएकाले सहभागिहरुले मञ्च देख्न पाएनन् । माइकको सहायताले भाषण सुन्ने बाहेक अधिकांश सहभागिहरुले मञ्च रहेको ठाउँको दृश्य देख्न पाएका थिएनन् । प्रदर्शनीमार्गको खसीबजारसम्म माइक जडान गरिएको थियो भने सडकमा नअटाएका सहभागिहरु दायाँ बायाँको बारमा झुण्डिएर भाषण सुनिरहेका देखिन्थे ।   

पार्टी झण्डा भन्दा राष्ट्रिय झण्डा बढी
प्रदर्शनमा सहभागि हुनेहरु धेरैजसोको हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो । पार्टीका विभिन्न तहको ब्यानरमा आएका समुहका हातमा भने पार्टी र जनसंगठनका झण्डा देखिन्थे । विभिन्न पेशा सम्बद्ध सहभागिहरु पेशागत ड्रेसमा प्रदर्शनमा सहभागि थिए ।

कांग्रेसका बुद्धिजीवी पनि प्रदर्शनमा
कार्यक्रममा एमाले र आन्दोलनरत दलका कार्यकर्ता र समर्थक मात्रै थिएनन् । सत्तारुढ कांग्रेसका तल्लो तहका कार्यकर्ता र सामाजिक अभियन्ताहरुको पनि बाक्लो उपस्थिति थियो । उनीहरुका हातमा राष्ट्रिय झण्डा थियो । नेपाली कांग्रेसका तर्फबाट विभिन्न निकायको माथिल्लो तहमा जिम्मेवारी सम्हालेका सामाजिक अभियन्ताका परिवारका सदस्यहरु राष्ट्रिय झण्डा बोकेरै प्रदर्शनमा सहभागि भएका थिए ।

बस्ने ठाउँ अभाव
एमालेको जुलुश मात्रै राजधानीका ४० ठाउँबाट सुरु भएको थियो । सबै जुलुशहरु रत्नपार्कमा आएर मिसिएका थिए । साढे १ बजे जुलुश आमसभामा परिणत हुने भनिए पनि ठूलो समुह भएका कारण आमसभा हुन डेढ घन्टा ढिलो भएको थियो । जुलुश सिधै कार्यक्रमस्थलमा पस्न समस्या भएपछि विभिन्न गल्लीको बाटो गरी सभास्थलमा छिरेका देखिन्थे । आयोजकले निर्धारण गरेको ठाँउमा सहभागि नअटेपछि नअटेपछि सहभागीहरुलाई भृकुटीमण्डप भित्र पस्ने ब्यवस्था मिलाइएको थियो ।

गाडीमा सहभागि ओसारिएनन्
अरु बेला राजधानीमा हुने कार्यक्रममा आसपासका जिल्लाबाट गाडी रिजर्भ गरेर सहभागि ल्याइने गरिन्थ्यो । तर, शुक्रवारको एमालेको सभामा गाडी रिजर्भ गरिएको थिएन । सहभागिहरु आ–आफ्नो क्षेत्रबाट सुरु भएका स–साना जुलुश हुँदै मुल जुलुशमा मिसिएका थिए । अन्य बेलाका कार्यक्रममा गाडी रिजर्भ गरेर मान्छे ल्याइन्थ्यो र कार्यक्रम स्थलमा रोकिन्थ्यो ।

श्रोत:चक्रपथ.कम 

यसमा तपाईको प्रतिक्रिया