मधेसमा एमालेका दिनदिनै सभा, ओलीले भने– सरकार लोकमानजस्तै बदनाम

jhapa-julus-oli
दमक, २७ पुस – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् । 

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । सरकारको योग्यता लोकमानसँग तुलना गदै उनले भने–सरकार नै निलम्बित अख्तियार प्रमुख लोकमान जस्तै भइसक्यो  । 

आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने बताए । ‘लोकमान जसरी नाङ्गिंदै गए, सरकार पनि त्यसै गरी नाङ्गिएको छ’– ओलीको भनाई थियो । 

संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने बेलामा संविधान संशोधनका बाहनामा देशलाई द्वन्द्वमा फसाउने काममा उद्यत रहेको वताए । ‘संविधान कार्यान्वयन गर्न देशलाई निर्वाचन तर्फ लैजानु पर्ने संबैधानिक र घोषित दायित्व छोडेर संविधान संशोधनका नाममा देशलाई द्वन्द्वमा अल्झाइराख्ने काममा सरकार उद्यत छ’ ओलीले भने ।  निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउदै ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजानेहरुको गम्भीर षडयन्त्र भइरहेकले सजग रहन जनतालाई आग्रह गरे । 

ओलीले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध र अर्कैको हितमा ल्याइएको वताए । संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने ओलीको भनाई थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘एउटा नागरिकले देशको माया गर्छु भन्नु ठीक हो, ज्ञानेन्द्रले राजकीय हैसियतमा भनेका होइनन्’– उनको भनाइ थियो । 

यसैबीच एमाले अध्यक्ष ओलीले झापाको दमकमा आकासेपुल उद्घाटन गरेका छन् । सो क्रममा पूर्व प्रधानमन्त्री ओलीले त्यहाँ उपस्थित विशाल जनसमुदायलाई सम्बोधन गरेका थिए । दुई दिनअघि मोरङ गएका ओली तराई मधेसका कार्यक्रममै सक्रिय छन् । त्यसयता ओलीको सहभागितामा विशाल जनसभाहरु भएका छन् भने एमालेका अन्य नेताहरु पनि तराई मधेसकै कार्यक्रममा सक्रिय छन् । 

 

Loading...

यसमा तपाईको प्रतिक्रिया